नियम २६
पुनर्स्थापना केन्द्रको स्थापना तथा सञ्चालन
: (१) ऐनको दफा २९ को उपदफा (३) बमोजिम पुनर्स्थापना केन्द्र स्थापना तथा सञ्चालन गर्न चाहने संस्थाले स्वीकृतिको लागि देहायका विवरण खुलाई सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनुसूची-६ बमोजिमको ढाँचामा सम्बन्धित स्थानीय तहमा निवेदन दिनु पर्नेछ :-
(क) संस्थाको विधान र दर्ता प्रमाणपत्रको प्रतिलिपि,
(ख) पुनर्स्थापना केन्द्र स्थापना हुने स्थान र त्यस्तो केन्द्रको क्षमता लगायतका भौतिक पूर्वाधारको विवरण,
(ग) पुनर्स्थापना केन्द्रले उपलब्ध गराउने सेवा, सुविधा र प्राविधिक क्षमताको विवरण,
(घ) पुनर्स्थापना केन्द्रको लागि आवश्यक जनशक्तिको विवरण,
(ङ) पुनर्स्थापना केन्द्र सञ्चालनको लागि आवश्यक आर्थिक स्रोतको विवरण ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा नियम २७ बमोजिमको मापदण्ड पूरा भएको देखिएमा स्थानीय तहले त्यस्तो संस्थालाई पुनर्स्थापना केन्द्र स्थापना तथा सञ्चालन गर्न अनुसूची-७ बमोजिमको ढाँचामा स्वीकृति दिनेछ ।
(३) यो नियमावली प्रारम्भ हुँदाका बखत प्रचलित कानून बमोजिम स्थापना भई सञ्चालनमा रहेका पुनर्स्थापना केन्द्रले यो नियमावली प्रारम्भ भएको मितिले एक वर्षभित्र यस नियम बमोजिम स्वीकृति लिनु पर्नेछ ।